पोखरा
संविधान दिवसको पुर्व सन्ध्यामा गण्डकी प्रदेश सरकारले मैत्रीपूर्ण भलिवल आयोजना गरेको छ । सशस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपूर्ण भलिवलमा बुधबार तीन खेल भएका छन ।

पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २–१ सेटमा पराजित भएको छ । मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्दबहादुर नेपाली, सांसदहरु मोहन बस्नेत र मिनप्रसाद गुरुङ लगायत सहभागी थिए ।

निजामति कर्मचारीको तर्फबाट मुख्यमसचिव हरिप्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे, मुख्यमन्त्री कार्यलयका उपसचिव डिल्लीराम सिग्देल लगायत सहभागी थिए ।

दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघले उद्योग बाणिज्य संघको टोलीलाई पराजित गरेको छ । २–० को सोझो सेटमा खेलकुद संघ विजयी भएको हो । तेस्रो खेल पत्रकार र कर्मचारीबीच भएको थियो । यो खेलमा पत्रकारको टोली २–० को सोझो सेटमा पराजित भयो । फाइनल खेल बिहीबार पश्चिमाञ्चल खेलकुद संघ र निजामति कर्मचारी टिमबीच हुनेछ ।

यसअघि, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेफ्रीलाइ भलिबल हस्तान्तरण गरेर कार्यक्रमको उदघाटन गरेका थिए । संविधान दिवसको अवसर पारेर प्रदेश सभाले विभिन्न कार्यक्रम गरिरहेको छ ।

SHARE