नवलपरासी, ३ असोज ।
पश्चिम नवलपरासीमा परपुरुषसँगको नाजायज सम्बन्ध लुकाउनका लागि आफ्नै श्रीमतीले श्रीमान्को हत्या गरेका छन् ।
सदरमुकाम परासीको रामग्राम नगरपालिका ३ घोडपाली आदर्श टोलमा बस्ने ४१ बर्षका तारा भन्ने रविन्द्रप्रसाद पाण्डेको उनकै श्रीमतीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।
थापाका अनुसार पाण्डेकी श्रीमती सरस्वती पोखरेल पाण्डेले उनकै श्रीमान रविन्द्र प्रसाद पाण्डेको हत्या गरेका हुन् । श्रीमती सरस्वती पाण्डेले अनैतिक सम्बन्ध रहेको पुरुषसँग मिलेर श्रीमान्को हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
गत भदौ १८ गतेदेखि सम्पर्क विहिन रहेका पाण्डेको शव प्रहरीले खोजतलास गर्ने क्रममा शुक्रबार गाउँनजिकै रहेको हरिसुसिल आधारभूत विद्यालयको ट्वाइलेटको सेप्टी टंकीमा सडेगलेको अवस्थामा फेला पारेको थियो ।
पाण्डेकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले पाण्डेको हत्यामा सम्लग्न अन्यको खोजी कार्य जारी राखेको जनाएको छ ।

SHARE