कावासोती,४ असोज ।
कावासोती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा रु. ५० लाखको अक्षयकोष स्थापना गरिने भएको छ । कावासोती नगरपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयमा गरिब,अल्पसंख्यक,विपन्न बालबालिकालाई अध्यनमा सहयोग पुर्याउने हेतुले अक्षय कोष स्थापना गर्न लागिएको हो । कावासोतीस्थित सिद्धार्थ आवासीय माध्यामिक विद्यालयका संस्थापक भोजराज दाहलले आफ्ना बुबा स्व.देवीलाल दाहल र आमा स्व. रमादेवी दाहलको स्मृतिमा यहाँ रहेका सामुदायिक विद्यालयहरुमा रु. ५० लाख बराबरको अक्षयकोष स्थापना गर्न लाग्नुभएको हो ।
सबैका लागि शिक्षा भन्ने नारालाई आत्मसाथ गर्दे नगरपालिका भित्र रहेका आर्थिक अभावका कारण विद्यालयमा अध्यनबाट बञ्चित भएका बालबालिकालाई अध्यनमा सहयोग गर्नका लागि अक्षय कोष स्थापना गर्न लागिएको विद्यालयका संस्थापक दाहलले बताउनुभयो । ‘नगर भित्रका कोही पनि बालबालिका आर्थिक अभावकै कारणले पढाईबाट बञ्चित हुन नपरोस भनेर अक्षयकोष निर्माण गर्न लागिएको हो, विद्यालयाका संस्थापक दाहलले भन्नुभयो –यसले सबैका लागि शिक्षा भन्ने नारालाई सार्थक तुल्याउने विश्वास लिएको छु । अक्षयकोष स्थापना गर्नु प्रमुख उद्येश्य सबै बालबालिका विद्यालयको पहुँचमा पुगुन भन्ने रहेको उहाँले बताउनुभयो । नगरपालिका भित्र अँझै पनि कतिपय विपन्न समुदायका बालबालिका आर्थिक अभावकै कारण विद्यालयसम्म पुग्न नसेको भन्दै त्यस्ता बालबालिकालाई अक्षयकोषबाट प्राप्त हुने रकमले पोषाक,शैक्षिक सामाग्रि खरिद लगाएत आवश्यक पर्ने वस्तु प्रदान गरिने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका भित्र रहेका १६ वटा माध्यामिक तह र २६ वटा आधारभुत तहका विद्यालय गरी कुल ४२ वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्नलागिएको हो । आधारभुत तहमा रु. १ लाख र माध्यामिक तहका विद्यालयमा रु. १ लाख पचास हजारको दरले गरी कुल रु. ५० लाखको अक्षयकोष स्थापना गरिने संस्थापक दाहलले बताउनुभयो ।
यस अघि उहाँले आफ्नो आमाको स्मृतिमा कावासोती त्रिभूवनटरस्थित नवलपुर बहुमुखी क्याम्पसमा रु. १ लाख पचास हजार बराबरको अक्षयकोष समेत स्थापना गरिसक्नुभएको छ । नगरपालिका भित्र रहेका सबै विद्यालयहरुमा शैक्षिक सत्र २०७७ सम्ममा अक्षयकोष स्थापना गरिसक्ने उहाँले बताउनुभयो । अक्षयकोषलाई व्यवस्थित बनाउनका लागि स्थानीय सरकारसँग समन्वय गरी नगर शिक्षा कार्यविधि अनुरुप गरिने विद्यालयका संस्थापक दाहलले बताउनुभयो ।

SHARE