भरतपुर, २७ असोज

‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको दोस्रो केन्द्रीय साधारण सभा भरतपुरमा सोमबार सम्पन्न भएको छ । देशका विभिन्न जिल्लाबाट आएका पोखरेलहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

पोखरेलहरुले आफ्नो वंशावली, टेलिफोन डाइरेक्ट्री, केन्द्रीय कार्यालय निर्माण गर्ने विषयमा साधारण सभामा व्यापक छलफल गरेका थिए । केन्द्रीय कार्यालय निर्माण सहयोगार्थ उनीहरुले आगामी माघ ११ गतेदेखि १८ गतेसम्म चितवनमा वृहद् महायज्ञ सञ्चालन गर्दैछन् । साधारण सभामा अध्यक्ष ओमप्रसाद पोखरेलले प्रतिष्ठानको भावी कार्ययोजना, महासचिव हरिप्रसाद पोखरेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रेखा पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सबै प्रतिवेदनहरु साधारण सभाबाट पारित भएको छ । कार्यक्रममा साधारण सभाका प्रमुख अतिथि सांसद एवम् कानून, न्याय तथा संसदीय व्यवस्था समितिका सभापति कृष्णभक्त पोखरेलले सबै समुदायले आफ्नो ईतिहास खोजेर संगठित भईरहेका बेला प्रतिष्ठानको यो कार्य सम्मानयोग्य भएको बताए । अब यो संगठित अभियान परिष्कृत र देशकै समृद्धितर्फ लाग्नुपर्नेमा प्रमुख अतिथि पोखरेलको जोड थियो ।

कार्यक्रममा पं. दिनबन्धु पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, कर्मचारी ट्रेड युनियन महासंघका उपाध्यक्ष भोला पोखरेल, जिल्ला कारागार पर्साका प्रमुख श्रवणकुमार पोखरेल, पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य ईश्वर पोखरेल, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक प्राध्यापक श्रीधर शर्मा मजगैया पोखरेल, भिजन लुम्बिनीका प्रमुख जगत पोखरेलल, उपाध्यक्ष शान्तप्रसाद पोखरेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

SHARE