खगेन्द्र पराजुली
८, कार्तिक, नवलपुर ।

बिहिवार बिद्यालय परिसरमा उद्घाटन भएको बृद्धाश्रम सहयोगार्थ तथा बालमैत्री समाज निर्माणार्थ सञ्चालित सेण्ट जोसेफ बाल क्लवको देउसी भैलो अन्तर्गत आज शुक्रवार कावासोतीका २ र देबचुलीका २ स्थानमा कार्यक्रम सम्पन्न भएका छन् ।
कावासोतीको रिठेपानी र बिष्णुनगर एवं देबचुलीको दलदले र प्रगतिनगरमा बिद्यार्थीद्वारा प्रस्तुत गरिएको सचेतनामुलक देउसी भैलोमा १ लाख ५० हजार रुपैया संकलन भएको छ ।
कावासोती ३ मा रहेको सेण्ट जोसेफ बिद्यालयका बिद्यार्थीहरुकै पहलमा गठित सेण्ट जोसेफ बाल क्लव र सेण्ट जोसेफ कला, साहित्य तथा संस्कृति क्लवको संयुक्त आयोजना तथा बिद्यालयको ब्यवस्थापनमा सञ्चालित देउसी भैलोबाट संकलित आर्थिक रकम नितान्त सामाजिक क्षेत्रमा खर्च गरिने बिद्यालयका प्रधानाध्यापक कमल चापागाईले बताउनुभएको छ ।
काठमाण्डौमा रहेको शैक्षिक क्षेत्रमा मात्र काम गर्ने एचिभर्स ग्रुपको ब्यवस्थापनमा कावासोतीमा सञ्चालित सेण्ट जोसेफका निर्देशक एवं एचिभर्स ग्रुपमा समेत निर्देशक प्रदिप भुसालका अनुसार बिद्यार्थीलाई सानै उमेरबाटै समाज, सामाजिक परिवेश, आदर्श, सिद्धान्त, नैतिकता, अनुशासन लगायतका ब्यवहारसँग प्रत्यक्ष घुलमिल गराउँदै सभ्य, सु–संस्कृत नागरीक उत्पादन गर्न सकिने बिश्वासका साथ बिभिन्न सामाजिक क्रियाकलापमा प्रत्यक्ष संलग्न गराईएको बताउनुभयो ।
वहाँले परम्परागत र मौलिक पर्वहरुको जगेर्ना गर्दै नयाँ पुस्तामा संस्कृतिको महत्व दर्साउँदै संस्कार र संस्कृति बालबालिकालाई नै हस्तान्तरण गर्ने उदेश्य समेत यसमा जोडिएको सुनाउनुभयो ।
निर्देशक भुसालले यसको सम्पुर्ण ब्यवस्थापकीय भुमिका बिद्यालयले नै निर्वाह गरेकाले बिद्यार्थीले स्वतस्फुर्त चालेको यो सामाजिक उत्तरदायित्वको अभियानमा भएको सहयोग जुन उदेश्यका साथ सञ्चालित भएको छ सोही ठाउँमा लगानी गरिने बताउनुभयो ।
तिहारको अवसरमा सञ्चालित देउसी भैलोबाट संकलित रकम कावासोती १२ पिठौलीमा रहेको बृद्धाश्रमलाई र कावासोती नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानमा बालबालिकाका क्षेत्रमा खर्च गरिने बताईएको छ ।
यसअघि पनि सेण्ट जोसेफ बाल क्लवका बिद्यार्थीले खाजा खर्च बचाएर संकलन गरेको ५ हजार ५ सय रुपैया देबचुली १२ का घरबिहिन सुकबहादुरको घर बनाउने अभियानमा सहयोग गरेका थिए ।
भोली शनिवार कावासोती ३ को देबीचोक, ३ कै मानेचोक, कावासोती २ को पञ्चकन्या चोक, कावासोती ५ को कालिका चोक र कावासोतीको ईन्द्रचोकमा देउसी भैलो कार्यक्रम सहित उपस्थित हुने बिद्यालय प्रशासनले जनाएको छ ।

SHARE