काठमाडौँ —

नवनियुक्त मन्त्रीहरुले बिहीबार शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एक समारोहबीच बिहीबार मध्याह्न मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।

शपथ लिने मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट , श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ छन्।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रपतिसमक्ष शपथ लिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी थिइन्। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी उपस्थित हुनुहुन्थ्यो।
SHARE