खगेन्द्र पराजुली
१८ फागुन, नवलपुर ।
ललितपुरमा सम्पन्न प्रथम ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७६ मा नवलपुरबाट प्रतिस्पर्धामा बिजयी हुन सफल भएका खेलाडी कावासोतीमा सम्मानित भएका छन् ।
आज कावासोतीको फलफूलचोकमा नवलपुर क्यो कुसिन कराँते डोजो जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष एवं मुख्य प्रशिक्षक गुञ्जबहादुर राईले प्रतियोगितामा बिजयी भएका तथा सहभागी जनाएका खेलाडीलाई हौसला स्वरुप सम्मान गर्नुभएको हो ।
हिजो र अस्ती अर्थात् शुक्रवार र शनिवार भएको प्रतिस्पर्धामा नवलपुरबाट सहभागिता जनाएका १२ जना फुल कन्ट्याक्ट कराँतेका खेलाडीमध्ये ४ जनाले पदक हात पार्न सफल भएका थिए ।
जसअन्तर्गत, ३५ केजी पुरुषतर्फ नवलपुरका बिश्वास मल्ल ठकुरी र सायल पुनले क्रमशः प्रथम र द्धितीय स्थान प्राप्त गरेका हुन् भने ५० केजी पुरुषतर्फ पबिन रानामगर द्धितीय भएका छन् ।
त्यस्तै, ५५ केजी महिलातर्फ अमृताकुमारी सेन ठकुरीले तृतीय स्थान प्राप्त गर्न सफल भएको डोजोका जिल्ला अध्यक्ष एवं मुख्य प्रशिक्षक राईले जानकारी दिनुभयो ।
ल्लितपुरबाट आजै नवलपुर आएका खेलाडीलाई कावासोतीको फलफुलचोकमा स्वागतका साथै खादा र टीका प्रदान गरिएको हो ।

SHARE