खगेन्द्र पराजुली,
२५ बैशाख, नवलपुर ।

गण्डकी प्रदेशका सामाजिक बिकासमन्त्री नरदेबी पुनले नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालको स्तरोन्नति र अस्पताल ब्यवस्थापनमा सघाउने बताउनुभएको छ ।
आज बिहीवार नवलपुर आउनुभएकी मन्त्री पुनले अस्पतालको भौतिक स्तर बृद्धिदेखी अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, उपकरण लगायतको ब्यवस्थापनमा समेत आफ्नो ध्यान गएको बताउँदै यसका लागी प्रदेश सरकारमा पहल गर्नुका साथै गृहकार्यमा जुटेको बताउनुभयो ।
कोरोना भाईरस काभिड १९ रोग न्यूनीकरण, रोकथाम र उपचारमा नवलपुरको अवस्थाका बारेमा बुझ्न अनुगमनका लागी आउनुभएकी मन्त्री पुनलाई अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाल तथा अस्पताल प्रमुख डा. सुनिल गौतमले कोरोना महामारीका क्रममा भए गरेका क्रियाकलाप र अवस्थाका बारेमा बताउनुभएको छ ।
यस्तै, वहाँहरुले अस्पतालको सेवाबाट परेको सकारात्मक प्रभाव, अस्पतालमा रहेका समस्या, आवश्यक सहयोगको अपेक्षा सहित मन्त्री पुनसँग आग्रह गर्नुभएको छ ।
सोही क्रममा प्रदेश सांसदद्धय रोशनबहादुर गाहामगर, जनकलाल श्रेष्ठ, कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन, नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेल, नेकपाका केन्द्रिय कमिटि सदस्य किशन गैरे लगायतको सहभागिता रहेको थियो ।

SHARE