पोखरा 

गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमित ११५ जना पुगेका छन् । आज बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टिनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सङ्क्रमित व्यक्ति एक साताअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । सङ्क्रमित व्यक्तिलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भएको बताइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोभिड–१९ देखिएको हो ।

गण्डकीका नौ जिल्लामा गरी कोभिड–१९ सङ्क्रमित ११५ पुगेका छन् । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् । स्याङ्जामा ३८, बागलुङमा २९, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १७, गोर्खामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँमा तीन, म्याग्दीमा दुई तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बागलुङकी एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमित मध्ये तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बागलुङका दुई र लमजुङका एक जना निको भएका हुन् ।

प्रदेशमा हालसम्म पाँच हजार ३०५ को पिसिआर विधिबाट परीक्षण गरिएकामा चार हजार ४५४ मा कोरोना देखिएको छैन । परीक्षण गरिएकामध्ये ७३४ को नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

प्रदेशमा आरडिटी विधिबाट भने नौ हजार ३५० को परीक्षण गरिएको छ । रासस

SHARE