राजु चापागाई
देवचुली, १५ साउन
देवचुली नगरपालिका वडा न ५ को बन्दिपुर गाउँ अहिले भुईकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा उत्पादन भएको भुईकटहरलाई बजारसम्म पुर्‍याउन भएको कठिनाईले भने स्थानीय किसानहरु चिन्तित छन । उत्पादन मात्र भएर के गर्नु बजार पुर्‍याउन गाह्रो भएपछी भन्छ्न स्थानीय तथा वडा सदस्य पदम गाहा । निरन्तर भईरहेको वर्षाको पानीले बाटो अवरुद्ध भएर जनजिवनमा व्यापक समस्या देखिएको र टाउकाले भारी बोकेर हिड्दा पनि कतै रुख ढलेर कुचिन्छ कि भन्ने डर भएको गाहाले बताए । प्रतिगोटा ४०/५० रुपैयामा गाउँबाटै बिक्री हुने भुईकटहरलाई बजारसम्म ल्याउनका लागी बाटो अवरुद्ध भएपछी कतिपयले डोकोमा बोकेर कदमपुरसम्म ल्याउने गरेका छन । कदमपुरबाट अटोरिक्साको सहायताले बजार क्षेत्रमा भुईकटहर पुर्‍याउँदा खर्चिलो हुने र आम्दानी नि कम हुने बन्दिपुरका खेम अच्छामीले बताए ।
केउरानी हुँदै बन्दीपुर पुग्ने बाटोको ठाउँ ठाउँमा पहिरो गएकोले सो पहिरोलाई सफा गर्न र बन्दीपुरमा उत्पादित भुईकटहरलाई बजारसम्म पुर्‍याउनका लागी पहल भैरहेको देवचुली नगरपालिका वडा न ५ का अध्यक्ष शिव सापकोटाले बताए । सापकोटाकाअनुसार पहाडी गाउँ बन्दीपुरका बासिन्दाहरुलाई हरेक वर्षाको समयमा बाटोको कारणले जनजीवन प्रभावित हुने गरेको र सो ठाउँमा उत्पादित कृषिजन्य सामाग्री ढुवानीमा समस्या हुने गरेको छ । देवचुली नगरपालिकाको भौगोलिक रुपले विकट पहाडी गाउँ बन्दिपुर भुईकटहर पकेट क्षेत्रले समेत चिनिन्छ ।

SHARE