९ मंसीर, नवलपुर—
नवलपुरमा कुपोषणको अवस्था जटिल बन्दै गएको छ । ब्यस्त जीवनशैली र सन्तुलित आहाराको ब्यवस्थापन गर्न नजान्दा कुपोषणबाट प्रभावित हुने बालबालिकाको अवस्था जटिल बन्दै गएको एक कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद नागिलाद्धारा प्रस्तुत तथ्याङ्कमा नवलपुरमा कुपोषणको ख्याउटेपन १४ दशमलव ९ प्रतिसत, पुड्कोपन २५ दशमलव ७ प्रतिसत र कम तौल हुने २८ दशमलव ८ प्रतिसत रहेको छ ।
जनस्वास्थ्य अधिकृत नागिलाले कुपोषणबाट बच्चालाई जोगाउन प्रमुखतामा जन्मेदेखी ६ महिनासम्म बच्चालाई आमाको स्तनपान निरन्तर गराउनुपर्ने बताए । त्यस्तै, ६ महिनापछि आमाको दूधसँगै शक्ति, वृद्धि र रक्षावद्र्धक पोसिलो खाना खुवाउनुपर्ने बताएका छन् ।
सन्तुलित आहाराका साथै नियमित रुपमा बच्चाको बृद्धि बिकासको मापन र बच्चामा लिनुुपर्ने सबै खोप तथा भिटामिन पाएमा कुपोषणबाट पर्ने प्रभावमा कमी आउने बताए ।
एक्सन एगेण्ट्स हंगरका डा. सञ्जीव सापकोटाले स्मार्ट सर्भेक्षणबाट तयार पारिएको तथ्याङ्कले गण्डकी प्रदेशका ११ जिल्लामै नवलपुर ख्याउटेपनको कुपोषणबाट सबैभन्दा बढी प्रभावित भएको र पुड्को र कम तौलको कुपोषण केही कम रहेको जनाएका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा एक्सन एगेण्ट्स हंगरको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन अन्तर्गतको पुर्नताजगी तालिममा २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
२ दिनसम्म चल्ने उक्त तालिमको सोमवारको पहिलो दिनको कार्यक्रममको सहजीकरण स्वास्थ्य कार्यालय नवलपुरका खरलप्रसाद चौधरीले गरेको थिए ।

SHARE