कावासाेति, पुस १७                                                           रोटरी क्लब अफ कावासोती तथा रोट्रयाक्ट क्लब अफ कावासोतीको संयुक्त आयोजनामा आज शुक्रबारबाट ७ दिने आत्म सुरक्षा तालिमको औपचारिक समुद्घाटन भएको छ ।
श्री शिव माध्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सोही विद्यालयका सहायक प्राधानाध्यापक दीपक विष्ट प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने विशिष्ठ अतिथिको रुपमा रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेल र राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका कोषाध्यक्ष तेज बहादुर कुँवर रहनु भएको थियो । रोट्रयाक्ट क्लबका अन्तराष्ट्रिय सेवा निर्देशक तथा सोही विद्यालयका शिक्षक ईश्वर पराजुलीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । ७ दिने तालिमबारे सोही विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा तेक्वान्दोका ब्ल्याक बेल्ट सुरज सापकोटाले जानकारी गराउनु भएको थियो । सुरुको चरणमा सोही विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने करिब ७० जना महिला विद्यार्थीहरुले लाभ लिनेछन् भने अवस्था हेरी अन्य विद्यार्थीलाई पनि दिने आयोजक संस्थाले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि विष्टले राष्ट्रिय रुपमा हुनु पर्ने कार्यक्रममा रोटरी तथा रोट्रयाक्ट क्लबले गरेको कार्य सरानिय रहेको र विद्यालयले यस्तो कार्यक्रममा सहकार्य गर्न पाउँनु हाम्रो लागि अमूल्य रहेको बताउनुभयो । समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको रोटरी क्लब तथा रोट्रयाक्ट क्लबले युवा लक्षित अभियान पनि सञ्चालन गर्दै आइरहेको रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले बताउनु भयो भने रोट्रयाक्ट क्लब अफ कावासोतीका अध्यक्ष परमानन्द गौतमले स्थापना भएको छोटो समयमा नै समाजमा उलेख्य भूमिका खेल्न सफल भएको र यश प्रकारको तालिम नवलपुर जिल्लामा नै पहिलो पटक भएको हुँदा यशको प्रभावकारी हेरी अन्य बिद्यालयमा पनि गर्ने जानकारी गराउनु भएको थियो । आजको औपचारिक समुदघाटन कार्यक्रममा रोट्रयाक्ट क्लबबाट उपाध्यक्ष कुशल लामिछाने, कोषाध्यक्ष गोविन्द सिग्देल, सह कोषाध्यक्ष पूजा श्रेष्ठ, मीडिया संयोजक धन राज थापा लगायत विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

SHARE